दशैंका लागि खसीबोका र च्यांग्राको मुल्य निर्धारण

१३ आश्विन २०७६, सोमबार १८:५५

काठमाडौं , नेपाल खाद्य संस्थानले दशैंका लागि खसीबोका र च्यांग्राको मूल्य निर्धारण गरेको छ । ज्युँदो खसीबोका प्रतिकिलो ५ सय ६० रुपैयाँ र भेडा, च्याँग्रा प्रतिकिलोको मूल्य ७ सय ४० रुपैयाँ निर्धारण गरिएको हो । यसमा प्रतिकिलो १० रुपैयाँ उपभोक्तालाई छुट दिइएको संस्थानले जानकारी दिएको छ ।

मूल्य निर्धारणसँगै संस्थानले आजबाट दशैंका लागि खसीबोका र च्यांग्राको बिक्रीवितरण सुरु गरेको छ । संस्थानले अञ्चल कार्यालय थापाथलीबाट बेच्न सुरु गरेको जनाएको छ ।

यस वर्ष संस्थानले ३ हजारको संख्यामा भेडा, च्यांग्रा तथा खसी बिक्रीवितरण गर्ने जनाएको छ । १ हजार ९ सय २० वटा भेडा, च्यांग्रा मनाङबाट ल्याइएको हो भने १ हजारभन्दा बढी खसीबोका मकवानपुरबाट काठमाडौं ल्याइएको संस्थानले जनाएको छ ।