टिपरको ठक्‍करबाट बालकको मृत्यु

१२ आश्विन २०७६, आईतवार २१:२८

विराटनगर , मोरङको सुन्दरहरैंचा नगरपालिका ६ स्थित भित्री सडकखण्डमा टिपरको ठक्‍करबाट आइतबार दिउँसो एक बालकको मृत्यु भएको छ । सुकुना चौतारी टोलमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को १ ख ६२७३ नम्बरको टिपरले ठक्‍कर दिंदा स्थानीय मिलन थपलियाका छोरा १२ वर्षीय छोरा लुकाश थपलियाको मृत्यु भएको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुकाअनुसार टिपरको ठक्करबाट पैदल हिंडिरहेका बालकको दिउँसो साढे १ बजे घटनास्थलमै मृत्यु भएको हो । शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

टिपर र सुन्दरहरैंचा ६ घर भएका चालक ३२ वर्षीय राजु तामाङलाई पक्राउ गरेर घटनाका बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।