
काठमाडौं , सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पार्टी कुनै पनि खालको निरंकुशताको पक्षमा नरहेको बताउनु भएको छ ।
पार्टी विदेश विभागले आयोजना गरेको ‘कम्युनिष्ट पार्टीहरुको एसिया प्रसान्त क्षेत्रीय सम्मेलन’ को बुधबार काठमाडौंमा उद्घाटन गर्दै नेता नेपालले निर्वाचनमार्फत् दुई तिहाई बहुमत ल्याएर सरकारको नेतृत्व गरिरहेको आफ्नो पार्टी निरंकुश हुन्छ कि भनेर हौवा नफिजाउन पनि अन्य राजनीतिक दललाई आग्रह गर्नु भयो ।
उहाँले जनताले सर्वाधिक रुचाएकै कारण नेपाल कम्युनिष्ट पार्टी नेपालमा लोकप्रिय भएको पनि स्पष्ट पार्नु भयो । वरिष्ठ नेता नेपालले नेपालको राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पक्षमा काम गरेकाले नै आफ्नो पार्टीले जनताको विश्वास लिएर शासन सत्ता संचालन गर्ने मौका पटक–पटक पाएको बताउनु भयो ।
