१२ गते घट्स्थापनादेखि फुलपातीसम्म काठमाडौं उपत्यका बाहिर जाने यात्रुको आँधीबेहरी नै आउँछ ,टिकटको समस्या छैनः महासचिव सिटौला

६ आश्विन २०७६, सोमबार १८:१४

काठमाडौं, यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव पुण्य प्रसाद सिटौला (सरोज) ले दशैंमा काठमाडौं उपत्यकाबाहिर जाने यात्रुको चापलाई ध्यानमा राखेर आफूहरुले यातायातको राम्रो व्यवस्थापन गरेको बताउनु भएको छ । उहाँले भन्नु भयो ,‘असोज १२ गतेदेखि १८ गतेसम्मको ६ दिनको अवधिमा झण्डै २० लाख यात्रु काठमाडौं बाहिर जान्छन् । हामी त्यसको लागि राम्रो व्यवस्थापन गर्नेगरि गृहकार्यमा जुटेका छौं ।’

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उहाँले यसपटक आफूहरुले अनलाईनमार्फत टिकट बुकिङ गर्ने अपेक्षा गरेपनि अन्तिम समयमा आएर त्यस्तो व्यवस्था गर्न नसकेको बताउनु भयो । सिटौलाले भन्नु भयो,‘अनलाईनमार्फत बुकिङ हुनुपर्दथ्यो, तर लाईन बस्नु पर्यो त्यो दुर्भाग्य हो । यातायातमा मात्रै होईन, सबै क्षेत्रमा यही बेतिथि छ, हामीले यो प्रथाको अन्त्य गर्नुपर्छ ।’

उहाँले अग्रिम बुकिङ हिजोबाट खुलेको सुनाउँदै पहिलो दिन भीड लागेको बताउनु भयो । तर, आजबाट टिकट काट्दा त्यस्तो भीड नभएको पनि उहाँले स्पष्ट पार्नु भयो । उहाँले यात्रुहरुको चापलाई ध्यानमा राखेर गुल्मी र अर्घाखाँची जाने यातायातको संख्या थप गरिएको पनि बताउनु भयो । यातायातसम्बन्धी तीन तहको सरकारले स्पष्ट ऐन नल्याएको, यातायातमा लगानीको सुरक्षा नभएको लगायतका केही समस्या रहेको उहाँले बताउनु भयो । त्यस्तै, उहाँले वीमा नीति पनि प्रष्ट हुनुपर्ने माग गर्नु भयो ।

सिटौलाले दश भन्दा कम मोडलका गाडी आफूहरुले सञ्चालन नगरेको पनि जिकिर गर्नु भयो । गाडी ठिक छ वा छैन भन्ने कुराको प्राविधिक पक्ष सरकारले हेर्नुपर्ने उहाँको भनाई छ ।
उहाँले सडकको स्तरोन्नती गर्नतर्फ सरकारको ध्यानाकार्षण गराउनु भयो । उहाँले भन्नु भयो ,‘सडकको बारेमा कसले बोल्ने ? गाउँका सडकको त कुरै छोडौं, यहीँ काठमाडौंका सडकको बारेमा कुरा गरौं, सामाखुशीबाट टोखा जाने सडक हिँड्न सक्ने अवस्थामा छैन् ।’ सिटौलाले टिकमा कुनै समस्या नभएको पनि जिकिर गर्नु भयो । उहाँकाअनुसार १२ गते घट्स्थापनादेखि फुलपातीसम्म काठमाडौं उपत्यका बाहिर जाने यात्रुको आँधीबेहरी नै आउँछ ।

उहाँले यात्रुको चापलाई हेरेर आफूहरुले सोहीअनुसारको यातायात व्यवस्थापन गरेको बताउनु भयो । यात्रुहरुलाई दुःख र मार नपरोस भनेर आफूहरु असाध्यै खटेको पनि उहाँले स्पष्ट पार्नु भयो ।