हवाई सेवामा पनि अग्रिम टिकट बुकिङ्ग खुल्ला, भाडामा १० प्रतिशत छुट

५ आश्विन २०७६, आईतवार १७:५२

काठमाडौं, हवाई सेवामा पनि अग्रिम टिकट बुकिङ्ग खुल्ला भएको छ । दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै बुकिङ्ग खुल्ला भएको हो । वायुसेवा सञ्चालकहरुको छाता संगठन वायुसेवा संचालक संघ, नेपाल (एओएएन) ले हवाई भाडामा विशेष छुटसहित अग्रिम बुकिङ्ग खुल्ला गरेको हो ।

संघले सबै आन्तरिक (डोमेस्टिक) उडानतर्फका आफ्ना नियमित उडान सेवामा नेपाली नागरिकहरुलाई हवाई भाडामा १० प्रतिशत छुट दिने जनाएको छ । उक्त छुट आगामी असोज १२ गतेदेखि कार्तिक २७ गते सम्म लागू हुने संघले बताएको छ ।

नेपालीहरुको महान चाड वडादशैं, तिहार तथा छठको अवसरमा संघका सबै नियमित उडान सञ्चालन गर्ने सदस्य वायुसेवा कम्पनीहरुको उडान टिकट सम्बन्धी आफ्नै काउण्टरबाट टिकट काट्दा सेवाग्राहीले यस्तो सुविधा पाउने छन् । उक्त छुट सामान्य हवाई भाडामा एयरपोर्ट ट्याक्स तथा फ्यूल सरचार्ज बाहेक १० प्रतिशत छुट दिने संघद्धारा जारी विज्ञप्तिमा बताइएको छ ।