कास्की–२ बाट उपनिर्वाचन नलड्ने घोषणा किन गर्नु भयो बामदेव गौतमले ?

५ आश्विन २०७६, आईतवार ११:०२

काठमाडौं , नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रस्तावित उपाध्यक्ष बामदेव गौतमले कास्की–२ बाट उपनिर्वाचन नलड्ने घोषणा गर्नु भएको छ । उपाध्यक्ष गौतमले शनिबार बसेको पार्टीको सचिवालय बैठकलाई आफू कास्की जिल्लाको रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी नदिने जानकारी दिनु भएको हो ।

उहाँ गत निर्वाचनमा बर्दिया १ मा काँग्रेस उम्मेद्वार सञ्जय गौतमसँग पराजित हुनु भएको थियो । उक्त निर्वाचनमा तत्कालीन वाम गठबन्धनसँग विपक्षीको तुलनामा ३२ हजार मत बढी हुँदा पनि आफू पराजित भएको भन्दै उहाँले भन्नु भयो ,‘ त्योभन्दा अत्यन्त कम मतान्तर रहेको कास्कीमा निर्वाचन उठ्नु फेरि पराजित हुनु हो ।’ साथै उहाँले कास्कीमा स्थानीय नेताहरुलाई उठाउँदा सहज जित हुने विश्वास व्यक्त गर्नु भयो ।

उपाध्यक्ष गौतमले भन्नु भयो, ‘कास्कीको निर्वाचनमा त्यहाँका स्थानीय कमरेडहरु उम्मेदवारीका निम्ति पहिलो हकदार हुनुहुन्छ । यसर्थ म कास्कीलाई कार्यक्षेत्र बनाएर पार्टी काम गरिरहनु भएका कमरेडमध्येबाट उम्मेदवार हुनुपर्ने कुरामा आफ्नो स्पष्ट अडान पेश गर्दछु ।’

गत फागुन १५ गते ताप्लेजुङको पाथिभरा हुँदै काठमाडौँ फर्कने क्रममा हेलिकोप्टर दुर्घटना भई संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि कास्की २ मा उपनिर्वाचन हुने भएको छ ।