
तनहुँ , नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले संस्थापक नेता बीपी कोइरालाको मर्म बुझ्न नसकेको बताउनु भएको छ ।
राष्ट्रिय जागरण अभियानका अवसरमा कांग्रेस तनहुँले बुधबार दमौलीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टीका कार्यकर्ताले पनि बीपीको मर्मलाई आत्मसाथ गर्न नसकेको बताउनु भयो ।
‘बीपी जयन्तीमा देशैभर कार्यक्रम भयो, तर कांग्रेस कार्यकर्ताले बीपीको आदर्शलाई बुझेका छन् कि छैनन्, यो मुख्य प्रश्न हो,’ वरिष्ठ नेता पौडेलले भन्नु भयो , ‘बीपीको सिद्धान्त र आदर्शलाई बुझेर अगाडि बढ्नुपर्छ ।’
उहाँले बीपी सबै जनताको शासनको पक्षमा रहे पनि कम्युनिष्टहरु सर्वहाराको शासनको पक्षमा मात्र रहेको आरोप लगाउनु भयो । बीपीले सबै जनताका लागि राजनीति गर्न चाहे पनि अहिलेको राजनीति त्यस्तो नरहेको वरिष्ठ नेता पौडेलको भनाइ थियो ।
निमुखालाई न्याय र विपन्नलाई आय कांग्रेसको मूल सिद्धान्त रहेको बताउँदै उहाँले गाउँ गाउँमा रोजगारी सिर्जना गरेर जनतालाई गाउँमै बसुँबसुँ बनाउनुपर्नेमा जोड दिनु भयो ।
