चिनियाँ दूतावास अगाडि १० महिला पक्राउ

२३ भाद्र २०७६, सोमबार १८:०१

काठमाडौं , नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी विरुद्ध प्रदर्शन गर्ने १० महिलालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई सोमबार दिउँसो काठमाडौंस्थित चिनियाँ दूतावास नजिकै भाटभटेनी अगाडि पक्राउ गरेको हो।

विवाह गर्ने बहानामा चीनमा नेपाली चेली बेचबिखन भइरहेको भन्दै १० जना महिलाको समूहले ‘चेलीबेटी बेचबिखन बन्द गर, चीनमा मानव तस्करी बन्द गर’ नारा लेखिएका ब्यानर र प्ले कार्डसहित प्रदर्शन गरेका थिए।

महानगरीय प्रहरी वृत्त कमलपोखरीका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोककी सीता ज्योती, काठमाडौं जडिबुटीकी उर्मिला पन्थी, ललितपुर लगनखेलकी शोभा डंगोल, जडिबुटी बस्ने पुनम ठकुरी, तेह्रथुम घर भएर हाल कोटेश्वर बस्ने मीना श्रेष्ठ र सुनसरीकी निर्मला ठकुरी लगायतका छन्। उनीहरूलाई वृत्तको हिरासतमा राखिएको छ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणको तयारीको क्रममा वाङ आइतबार तीन दिने नेपाल भ्रमणमा आएका छन्।