
पर्वत , जलजला गाउँपालिकामा बालुवाको थुप्रोमाथि रहेको विद्युतीय तारमा छोइएर एक मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका १७ वर्षीय गणेश किसान रहेका छन्।
शनिबार उनी ट्रयाक्टरका मालिकसँगै बालुवा लिन जलजलाको लस्तीमा रहेको दक्षिणामकाली क्रसर उद्योगमा पुगेका थिए। ट्रयाक्टरका सहचालक किसानले फोनमा कुरा गर्दै हिँडिरहेको अवस्थामा बालुवाको अग्लो थुप्रोमाथि रहेको विद्युत् तार छुँदा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए।
उनको घटनास्थलमा नै मृत्यु भएको हो। किसान म्याग्दीका बासिन्दा भएकाले उनको शवलाई म्याग्दी अस्पतालमा पोस्टमार्टम गरेर आफन्तको जिम्मा लगाइएको पर्वत प्रहरीले जनाएको छ।
