ओलीजीले पार्टी चलाउने एकल जिम्मा तत्काल प्रचण्डलाई दिनुपर्छः युवराज ज्ञवाली

२१ भाद्र २०७६, शनिबार १६:३९

काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य युवराज ज्ञवालीले पार्टीमा अब ‘एक व्यक्ति, एक प्रमुख जिम्मेवारी’ को व्यवस्था लागु गर्नुपर्ने बताउनु भएको छ । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमात्रै चलाउनुपर्ने र पार्टी चलाउने एकल जिम्मा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिनुपर्ने बताउनु भयो ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता ज्ञवालीले नेकपाभित्र अहिले ‘एक व्यक्ति, एक प्रमुख जिम्मेवारी’ को बहस सुरु भैसकेको स्पष्ट पार्नु भयो ।

साक्षात्कारमा बोल्दै ज्ञवालीले पार्टी र सरकारबीच अन्तरसम्बन्ध रहेको बताउनु भयो । पार्टी र सरकार चलाउने अलग–अलग विधान रहेको उहाँको भनाई छ ।

अहिलेपनि पार्टीका नेता तथा कार्यकर्ताहरु दोहोरो भूमिकामा रहेको सुनाउँदै ज्ञवालीले यसले राम्रो नतिजा नदिने टिप्पणी गर्नु भयो ।
उहाँले नेकपाभित्र अब चीन र रुसजस्तो गरेर एकै व्यक्तिले पार्टी र सरकार चलाउन नहुने बताउनु भयो । पार्टीको महाधिवेशन नहुञ्जेलसम्म नेकपाभित्र दुई अध्यक्ष बाध्यता भएको उहाँको भनाई छ ।
उहाँले वर्तमान प्रधानमन्त्री ओली संसदबाट निर्वाचित प्रधानमन्त्री भएकोले र उनले दुई वटा बजेट ल्याएकोले बजेट कार्यान्वयनलगायतका काम गर्नपनि प्रधानमन्त्रीबाट ओलीलाई बदल्न नहुने जिकिर गर्नु भयो । उहाँले ‘सरकारको नेतृत्व ओलीजीले गर्ने र प्रचण्डजीलाई पार्टी चलाउन एकल अधिकार दिनु पर्ने बताउनु भयो । नेता ज्ञवालीले प्रचण्डलाई पार्टी अध्यक्षको जिम्मेवारी दिईए राम्रो सँग सञ्चालन हुने र यसले राम्रो नतिजा दिने बताउनु भयो ।