
अर्घाखाँची , अर्घाखाँची चेम्बर अफ कमर्सको अध्यक्षमा अशोक कुमार श्रेष्ठ सर्वसम्मतले निर्वाचित भएका छन् ।
कमर्सको सन्धिखर्कमा सम्पन्न स्थापना दिवस, साधारणसभा एवम् प्रथम अधिवेशनमा अध्यक्ष श्रेष्ठसहित कार्यसमितिका सबै पदाधिकारी निर्विरोध चयन भएका हुन् । पूर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझी र चेम्बरका केन्द्रीय सदस्य सन्तोष पाण्डेले संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्री रायमाझीले अर्घाखाँचीमा उद्योग स्थापना तथा विकासका अथाह स्रोत तथा सम्भावनाहरु भए पनि उपयोग गर्न नसकिएको भन्दै आर्थिक विकासको लागि कृषि, पर्यटन, उद्योग व्यवसाय, जलविद्युत, शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर सरकार र निजी क्षेत्र दुवैले सहकार्य गरेर अगाडी बढाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका केन्द्रिय सदस्य सन्तोष पाण्डेले अर्घाखाँचीको विकासलाई सहयोग पुर्याउन पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताए । उनले अर्घाखाँची जिल्लाबाट लुम्बिनी पनि नजिकै पर्ने भएकाले र प्रसिद्ध पर्यटकिय स्थल देउराली पनि भएकाले पर्यटनको सम्भावना रहेको उल्लेख गरे ।
अर्घाखाँची चेम्बरका अध्यक्ष अशोक श्रेष्ठले अर्घाखाँची जिल्लामा ठूला उद्योग आउन चाहेमा उक्त उद्योगहरुलाई ३ वर्षसम्म दस्तुर नलिइने जानकारी दिए । अर्घाखाँची चेम्बरले आफ्नो पहिलो स्थापना दिवसको अवसरमा अर्घाखाँची जिल्लाका सबै नगरपालिका तथा गाउँपालिकाहरुमा पनि चेम्बर गठन गर्ने जनाएको छ ।
