
काठमाडौं, पालुङटार–६ की शोभा गुरुङ हरेक दिन सूर्य नअस्ताउँदै रातको खाना खानुहुन्छ र दुई नातिनी लिएर छिमेकीको पिँढीमा पुग्छिन्। बिहान भालेको डाँकसँगै आफ्नो घर भएको स्थान फर्किन्छन्। चार वर्षअघि २०७२ सालको भूकम्प गएदेखि नै उनको दिनचर्या यस्तै भएको छ।
पीडामा पनि हाँसो मिसाउँदै उनी भन्छिन्, “के गर्नु बास छैन, त्यसैले साँझ नपर्दै दुई नातिनी च्यापेर रोधीघर हिँडेजस्तो हिँड्नुपर्छ, अर्काको छिडीँ खोज्दै। ”
उनको घर भन्नु नै चारवटा खाबोमाथि हालेको जस्तापाताको ओत मात्र हो । जहाँ एउटा अगेना र वरपर आधा वट्टा ढिके नुन, केही बेसार र पिठो राख्ने सानो भाडो, केही थाल, कचौरा र एउटा गाग्री देखिन्छ।
सँगैको छाप्रामा दुईवटा गाई बाँधिएका छन्। उनको एक छोरा अझै त्यही नजिकको पालमुनि नै बस्दै आएका छन्। भूकम्प गएको चार वर्ष बितिसक्दा पनि उनको घर बनिसकेको छैन।
भर्खरै भारत सरकारद्वारा सहयोग प्राप्त नेपाल आवास पुनःनिर्माण परियोजनाले उनका लागि ढुङ्गामाटोको दुईकोठे घर बनिरहेकाले उनमा थोरै आशा पलाएको छ।
परियोजनाले उनका लागि ढुङ्गामाटोको गाह्रोलाई तारजालीले बाँधेर भूकम्प प्रतिरोधी घर निर्माण गर्दै छ। परियोजनाअन्तर्गतका सामुदायिक परिचालक दयाराम लामिछाने, आवास निर्माण साथी नरबहादुर अम्गाई दिनरात खटिएका छन्। यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
