सबै स्थानीय तहमा पुस्तकालय स्थापना गर्ने सरकारको तयारी

१५ भाद्र २०७६, आईतवार १४:१८

काठमाडौं, सरकारले सबै स्थानीय तहमा सुविधा सम्पन्न पुस्तकालय स्थापना गर्ने तयारी गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सबै स्थानीय तहमा सुविधा सम्पन्न सामुदायिक तथा सार्वजनिक पुस्तकालय स्थापना हुने बताउनु भएको हो । पुस्तक गुरुयोजना तय गरिएको र त्यसलाई छिट्टै मन्त्रिपरिषद बैठकबाट पारित गरी कार्यान्वयनमा लैजाने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

१२ औं पुस्तकालय दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पुस्तक नीति तर्जुमा गर्न गठित कार्य दलको प्रतिवेदन कार्यान्वयनमा लैजान पनि सरकार प्रतिवद्ध रहेको स्पष्ट पार्नु भयो ।

मन्त्री पोखरेलले सरकारले पठन संस्कृतिको विकासका लागि पनि पुस्तकालयको विकास र विस्तारसम्बन्धि नीति लिएको स्मरण गराउनु भयो । मन्त्री पोखरेलले पुस्तकालय सञ्चालनका लागि आवश्यक नीति बनाउने योजना समेत तय गरिएको बताउनु भयो ।