१६ स्थानीय तह अझै बैंकिङ पहुँच बाहिर , बैंक पुगेको ठाउँमा पनि खाता खुलेन

१० आश्विन २०७६, शुक्रबार ०८:५१

काठमाडौं, मुलुकका १६ वटा स्थानीय तह अझै पनि बैंकिङ पहुँच बाहिर रहेका छन् । सरकारले गत असारसम्म सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्था स्थापना गर्ने भने तापनि हालसम्म ७ सय ३७ तहमा मात्र बैंक तथा वित्तीय संस्था पुगेका छन् । स्थानीय तहको संख्या ७ सय ५३ रहेको छ । बैंक तथा वित्तीय संस्था सबै स्थानीय तहमा नपुग्दा सो क्षेत्रका स्थानीय तह बैंकिङ कारोबार गर्न अर्को स्थानीय तहमा पुग्न बाध्य छन् । स्थानीय बासिन्दा पनि आफूले आर्जेको रकम असुरक्षिततवरले घरमा लुकाएर राख्न बाध्य छन् ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा चीरञ्जीवी नेपालले असार महिनाभित्र सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्था स्थापना हुने जानकारी पटकपटक दिँदै आएका थिए । नेपाल राष्ट्र बैंकका अनुसार साउन मसान्तसम्म सुदूर पश्चिम प्रदेशका ६ स्थानीय तह, कर्णाली प्रदेशको ४ स्थानीय तह र गण्डकी प्रदेशको एक स्थानीय तहमा बैंक तथा वित्तीय संस्था पुगेको छैन । यसैगरी, प्रदेश ३ का दुई स्थानीय तह, प्रदेश १ का एक र प्रदेश २ का दुई स्थानीय तह पनि बैंकिङ पहुँच बाहिर छन् । प्रदेश ५ मा भने सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार भइसकेकोे छ ।
स्थानीय तहमा बैंक स्थापना नहुँदा सामान्य सरकारी कामकाजका लागि जिल्ला सदरमुकाम जानुपर्ने बाध्यता रहेकोे छ । गाउँपालिकामा बैंक नहुँदा राजस्व बुझाउन पनि दुई दिन लगाएर जिल्ला सदरमुकाम जानुपर्ने बाध्यता रहेको छ ।
स्थानीय तहमा बैंकिङ सेवा प्रवाह नहुँदा शिक्षक, कर्मचारी, व्यापारी मात्र नभई गाउँपालिकाका कामकाज समेत प्रभावित हुँदै आएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।