साइबर अपराध र मानव बेचबिखन रोकथाम प्रहरीको प्राथमिकतामाः खनाल

२४ भाद्र २०७६, मंगलवार १३:२५

काठमाडौं, साइबर अपराध र मानव बेचबिखन नेपाल प्रहरीको पहिलो प्राथमिकता रहेको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बताउनु भएको छ । मंलगबार काठमाडौं प्रहरीका तीनवटा नवनिर्मित भवनको शिलान्यासपछि नेपाल पुलिस क्लबमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले साइबर अपराध र मानव बेचबिखनका घटना रोकथामका लागि कटिबद्ध भएर लाग्न मातहतका अधिकारीहरूलाई निर्देशन दिनु भयो ।

त्यस्तै, विभिन्न देशमा अपराध गरेर नेपालमा लुकेर बस्छु भन्ने सपनाले कुनै देशका नागरिक नेपाली भूमि प्रयोग गर्छन् भने त्यो उनीहरूको भ्रम मात्र हुने खनालको भनाइ थियो ।

उहाँले टेकुस्थित महानगरीय अपराध महाशाखा, भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरको कार्यालय र भृकुटीमण्डपमा रहेको पुलिस क्लबको नवनिर्मित भवनको शिलान्यस गर्नु भएको हो । सरकारले अपराध महाशाखा र काठमाडौं परिसरका लागि १ अर्ब ९६ करोडको लागतमा टेकुस्थित आयल निगमको जग्गा र भद्रकालीको जग्गा खरिद गरेको थियो ।

तीनवटै भवन दुई वर्षभित्र बनिसक्ने खनालकोे भनाइ छ । भवन निर्माणका क्रममा कुनै पनि लापरबाही नगरी निर्माण कम्पनीसँग समयसीमाभित्रै सक्ने गरी सहमति हुने खनालको दाबी छ ।