‘मिडिया काउन्सिल विधेयक’ परिमार्जन हुन्छः अध्यक्ष दाहाल

११ आश्विन २०७६, शनिबार १७:२४

काठमाडौं , सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले संघीय संसदमा विचाराधीन ‘मिडिया काउन्सिल विधेयक’ परिमार्जन हुनेमा ढुक्क हुन संचारकर्मीहरुलाई आग्रह गर्नु भएको छ ।

अध्यक्ष दाहालले संसदमा पेश गरिएका सबै विधेयकलाई संविधानको भावना र मर्म अनुसार अघि बढाउन आफ्नो पार्टी दृढतापूर्वक उभिएको दाबी गर्नु भयो । “प्रेसलाई संकुचन गर्ने, नियन्त्रण गर्ने कुनै पनि विधेयक आयो भने त्यो संविधानको मूल मर्म र भावना विपरित हुन्छ,” शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष दाहालले बताउनु भयो ।

अध्यक्ष दाहालले आफ्नो पार्टी पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउनु भयो । उहाँले पूर्ण प्रेस स्वतन्त्रताको अर्थ फेरी अराजकता होइन, उदण्डता होइन भन्ने कुरामा ध्यान दिने काम संचारकर्मीहरुले नै गर्नुपर्ने पनि स्पष्ट पार्नु भयो ।