मन्त्रीले नेतृत्व गर्ने, उपप्रधानमन्त्री सहभागी

१ आश्विन २०७६, बुधबार १०:२४

काठमाडौं, उपप्रधानमन्त्री सहभागी हुने राष्ट्रसंघीय महासभामा सरकारको नेतृत्व भने परराष्ट्रमन्त्रीबाट हुने भएको छ ।

प्रधानमन्त्री केपी ओली राष्ट्रसंघको ७४ औं महासभामा सहभागी नहुने भएपछि नेपाली टोलीको नेतृत्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गर्दै छन् । सोही महासभाको एक छलफलमा भाग लिन उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव पनि जान लागेका छन् ।

महासभाको मुख्य बैठकमा राष्ट्रका तर्फबाट परराष्ट्रमन्त्रीले सम्बोधन गर्नेछन् । पदीय मर्यादामा उपप्रधानमन्त्री परराष्ट्रमन्त्रीभन्दा माथि हुन्छन् ।

मन्त्रिपरिषद्को बरियातामा पनि यादव ३ नम्बरमा छन् भने ज्ञवाली ५ नम्बरमा । महासभाको प्रमुख आकर्षणमध्ये अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोजना गर्ने रात्रिभोज र सहभागीको सपत्नी फोटो खिचाउने चलन एउटा हो ।

राष्ट्रसंघीय नियोगका एक अधिकारीका अनुसार यस्तो कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवाली सहभागी हुनेछन् । उपप्रधानमन्त्री यादव भने महासभाअन्तर्गतको स्वास्थ्यसम्बन्धी छलफलमा संलग्न हुनेछन् ।

दुई वर्षअघि ७२ औं महासभामा पुगेका तत्कालीन उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा रात्रिभोजमा जाँदा ढोकाबाट फर्कनुपरेको थियो । त्यतिबेला टोली नेतृत्व तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए । उनी त्यसभन्दा पछि जाँदै थिए । त्यही भएर महरा भित्र छिर्न पाएका थिएनन् । यो समाचार आजको अन्नपूर्ण पोष्टमा छ ।