पूर्वराजा ज्ञानेन्द्रको शासन र ओलीको शासनमा कुनै फरक देखिएनः बालकृष्ण खाँड

१३ आश्विन २०७६, सोमबार १८:२८

जनकपुरधाम , नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले पूर्वराजा ज्ञानेन्द्रको शासन र ओलीको शासनमा कुनै फरक नदेखिएको टिप्पणी गर्नु भएको छ ।

नेपाल प्रेस युनियन धनुषाद्वारा जनकपुरमा आज आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रमुख सचेतक खाँडले तनहुँमा नेता डा मिनेन्द्र रिजालमाथि भएको आक्रमणको प्रयास घटनाले ओली नेतृत्वको कम्युनिष्ट सरकार निरंकुश बन्दै गएको स्पष्ट भएको बताउनु भयो ।

उहाँले चितवनमा नेकपाकै कार्यकर्ताले ज्ञानेन्द्र शाहीलाई गरेको कुटपिट घटनामा समेत आपत्ति जनाउनु भएको छ । प्रमुख सचेतक खाँडले नेकपाले चिनिया कम्युनिष्ट विचार धारा नेपालमा ल्याउन खोजेकोमा आपत्ति जनाउनु भयो । उहाँले भन्नु भयो, ‘चीनमा न प्रेस स्वतन्त्रता छ, न मानव अधिकार। अनी त्यहाँका व्यवस्थाको नक्कल गरे जनताले स्वीकार्न सक्दैन।’