नागरिकता विधेयकमा सरकारले भाषा मिलाएर ल्याउनुपर्ने देखिन्छः शर्मा

२६ भाद्र २०७६, बिहीबार १३:५७

काठमाडौँ, नेकपाका सांसद जनार्दन शर्माले नागरिकता विधेयकमा भाषा मिलाउन सुझाव दिनु भएको छ ।

विधेयकबारे समितमा बिहीबार भएको छलफलका क्रममा पूर्व गृहमन्त्री समेत रहनु भएका शर्माले बैबाहिक जीवनमा व्यवहारिक संकट नआउने गरी समाधान गर्नुपर्ने बताउनु भयो ।

उहाँले पूर्व पश्चिम या उत्तर दक्षिण जुनसुकै सीमानामा बसेपनि हामी सवै नेपाली भएको र कस्तो कानुुन बनाउने भन्ने पनि हाम्रो आफ्नै जिम्मेवारीभत्र पर्ने बताउनु भयो ।

उहाँले हाम्रो आर्थिक अवस्था, जनसंख्या र छिमेकी देशहरुको सम्बन्धलाई समेत ख्याल गर्दै नेपालको हित र रक्षालाई प्राथमिकतामा राख्दै कानुन निर्माण गर्न सक्नुपर्ने बताउनु भयो ।

‘भावनात्मक र व्यवहारिक रुपमा मात्रै यो विषयमा निर्णय गर्ने होइन यसलाई रणनैतिक रुपमा पनि हेर्नुपर्छ । त्यसैले विधेयकमा सरकारले भाषा मिलाएर ल्याउनुपर्ने देखिन्छ’ शर्माको सुझाव छ । उहाँले कानुन बनाउँदा छिमेकीहरुसँगको सम्बन्धका बारेमा पनि ख्याल गर्नुपर्ने बताउनु भयो ।