गाई मार्नेलाई कारबाही गर्नु पर्छ

१५ भाद्र २०७६, आईतवार १२:५२

बिष्णुप्रसाद शर्मा

सुर्खेतको वनमा भिरबाट गाईहरूलाई खसालेको घटनाले सवैको मन छोएको छ । गाईहरूलाई भिरबाट खसालेर मार्नु भनेको चरम क्रूरता हो । मानिसहरूको व्यवहार हेर्दा अचम्म लाग्छ । पापीहरुले देखाएको चरम क्रूरताको उदाहरण हो यो । करिब तीन सय गाईलाई बिहीवार राति सुर्खेतको कटकुवाको जंगलमा भिरबाट खसालियो । तीमध्ये २० वटाभन्दा धेरै गाई मरे भने गम्भीर घाइते हुनेको संख्या निकै धेरै भएको समाचार बाहिर आएको छ । नेपालमा गाई, गोरुको हत्या गर्नु भनेको कानुनतः दण्डनीय अपराध पनि हो । यो घटनाले धार्मिक आस्था माथि चोट पुयाएको छ । बिश्व हिन्दु महासंघ कहाँ छ ? किन यो बिषयमा बोल्दैन ? यो संस्थाको स्थापनाको उदेश्य के हो ? र सवै पक्षलाई समेटेर गाई रक्षा लगायत हिन्दुहरुको संरक्षण गर्नु पर्ने हो की होइन ? यो प्रश्नको उत्तर जनताले खोजीरहेका छन ।

भिरबाट लडाएर गाई मारेको घटनालाई सामान्यरूपमा लिनु हुँदैन । नेपालगन्ज नगरपालिकाले संरक्षण गर्ने भनेर थुनेर राखेको गाई किन र कसरी दैलेख पठाउन खोजियो ? यो बारे स्पष्ट हुनु जरुरी छ । यो घटनाको छिटो भन्दा छिटो छानबिन हुनुपर्छ । गाई लिएर जाने ट्रक चालकहरूको बदमासी हो वा अरु कसैको हो । उनीहरूले कसको आदेशमा भिरवाट लडाएर गाईहरु मारे यो बिषयमा छानबिन हुनुपर्छ । यो ठूलो अपराध हो । ट्रक चालकहरूमाथि कानुनअनुसार कारबाही र सजाय हुनैपर्छ । आदेश दिनेहरूमाथि पनि गो हत्याको मुद्दा चलाउनुपर्छ । दोषीलाई कसुरअनुसार कानुनी कारबाही हुनुपर्छ । यो घटनालाई सरकारले बेवास्ता गर्न खोज्यो भने राम्रो हुने छैन । अव यस्तो घटना दोहोरिन दिनु हुदैन । सरकारले गाई हत्या गर्ने अपराधीहरुमाथि कारबाही गर्नुपर्छ ।

संविधानले गाई राष्ट्रिय जनावर भनेको छ । गाईसँग हिन्दुहरुको अत्यन्तै ठूलो आस्था र संस्कृति जोडिएको छ । सुर्खेतको भीरबाट खसाएर गाई मारिएको घटनाले हिन्दुहरुको आस्थामाथि ठेस पुगेको छ । यो घटनामा संलग्नलाई तुरुन्तै कानुनी कठघरामा ल्याएर कडा कारवाही गरियोस् ।

शर्मा , नेपाल संरक्षण अभियानका केन्द्रीय संयोजक तथा राजनीतिक बिश्लेषक हुनुहुन्छ ।