गीतका कारण बलिउड अभिनेत्री आलिया भट्ट विवादमा

१२ भाद्र २०७६, बिहीबार १२:३५

एजेन्सी, बलिउड अभिनेत्री आलिया भट्ट ‘पर्दा’ बोलको गीतका कारण विवादमा परेकी छिन्। पाकिस्तानी अभिनेत्री मेहविश हयातले पाकिस्तानी गीतको प्रतिलिपि बलिउडले चोरेको आरोप लगाएपछि अभिनेत्री भट्ट विवादमा तानिएकी हुन्।

अभिनेत्री भट्टको डेब्यु म्युजिक भिडियो ‘पर्दा’ गीत
पाकिस्तानी एल्बम ‘भाइटल सिन्स’ को ‘गोरे रंगका जमाना’ सँग हुबहु मिलेपछि पाकिस्तानी अभिनेत्री मेहविश हयातले सामाजिक सञ्जालमा प्रतिक्रिया दिएपछि टिकाटिप्पणी आएका थिए। ‘मलाई यो अनौंठो लाग्यो। एकातिर बलिउडले हरेक अवसरमा सकेसम्म पाकिस्तानको बेइज्जत गर्छ। अर्को तर्फ, हाम्रो गीतहरू चोर्न कार्यलाई निरन्तरता दिइरहेको छ। प्रतिलिपि अधिकार र रोयल्टी भुक्तानीका विषयमा उनीहरूलाई कुनै अर्थ दिदैन्,’ उनले ट्वीटमा उल्लेख गरेकी छिन्।

बलिउड फिल्मले पाकिस्तानी गीतहरू चोरी गरेको आरोप लगाउँदै उनले बलिउड अभिनेता शाहरुख खानद्धारा अभिनित नेटफिक्स प्रोडक्सनको ‘बर्ड अफ ब्लड’ को पनि आलोचना गरेकी थिइन्। ‘अभिनेता शाहरुख खान देशभक्त बन्नुहोस्। कसैले तपाईंलाई रोकेको छैन्।

हामीलाई अपमान गरेर आम्दानीको हिसाब गर्ने कार्यले नगर्नुहोस्,’ उनले ट्वीट गरेकी छिन्। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बलिउड फिल्म उद्योगलाई आफ्ना एजेन्डाको प्रचार गर्ने माध्यम बनाएको उल्लेख गरेकी छिन्। ‘पाकिस्तानी कलाकारहरुका लागि भारतमा काम पाउन असम्भव छ,’ उनले ट्वीट गरेकी छिन्।

केही दिनअघि नर्वेको राजधानी ओस्लोमा आयोजित ‘प्राइड अफ पर्फमेन्स’ मा अवार्ड लिँदै अभिनेत्री हयातले हलिउड र बलिउडका फिल्महरूले पाकिस्तानको बदनाम गरेको आरोप लगाएकी थिइन्। बलिउडले चाहे भारत र पाकिस्तानको सम्बन्ध सुध्रिनसक्ने तर्क उनले दिएकी थिइन्। ‘बलिउडले चाहे फिल्मको माध्यमबाट भारत र पाकिस्तानको आपसी सम्बन्ध र समझदारी बढ्न सक्थ्यो। तर, बलिउडले पाकिस्तानको बदनाम गर्न फिल्महरू निर्माण गरिरहेको छ। बलिउडले राष्ट्रवाद वा शान्तिपूर्ण भविष्य रोज्ने भनेर सोच्नु जरुरी छ, ’उनले भनेकी थिइन्।

विवादमा परेकी अभिनेत्री भट्टले डेब्यु म्युजिक भिडियोप्रति कुनै प्रतिक्रिया दिएकी छैनन्।