‘लाइसेन्स’ असोजबाट फेरि खुल्ने

१० भाद्र २०७६, मंगलवार १३:४०

काठमाडौं, प्रदेश ३ मा सवारीसाधन चालक अनुमतिपत्र (लाइसेन्स) को लागि आवेदन फेरि खुल्ने भएको छ । यातायात व्यवस्था सेवा कार्यालयले प्रदेशका १३ जिल्लामा लाइसेन्सको लागि आवेदन खुलाउन लागेको हो । असोजको अन्तिम सातामा अनलाइन निवेदन खुला गर्ने तयारी गरिरहेको यातायात व्यवस्था कार्यालयले जनाएको छ ।

लाइसेन्सको लागि अहिले हेटौंडामा प्रहरी ट्रायल सेन्टर निर्माण भइरहेको छ । कार्यालयमा आवश्यक प्रविधिको जडान गरिँदैछ । कार्यालयले प्रदेशअन्तर्गत रहेको चितवनका २ हजार ५ सय मोटरसाइकललाई साविक नारायणी अञ्चलमा दर्ता रहेका नम्बरलाई खारेज गरी प्रदेशको कोड नम्बरसहित नयाँ नम्बरमा दर्ता गरिएको जनाएको छ ।

कार्यालयका अनुसार विभिन्न जिल्लाका यातायात कार्यालयबाट सवारी अनुमतिपत्र प्राप्त गरेका पुराना १ हजार सय जनाको अनुमतिपत्र नवीकरण गरिएको छ । कार्यालयमा दैनिक ३५ देखि ४० जनाले सवारी अनुमतिपत्र नवीकरणका लागि आवेदन दिने गरेका छन् । कार्यालयले आव २०७५÷७६ मा विभिन्न स्रोतको राजश्ववापत २६ करोड ११ लाख ४८ हजार थप राजश्व असुली गरेको जनाएको छ ।

अब केही साताभित्रै सडकको अनुगमन गरी प्रदूषणको नियन्त्रण गर्ने प्रविधिको परीक्षण गर्न एवं उच्च भारबहन गर्ने सवारीसाधनलाई प्रत्यक्ष निगरानीगरिने भएको छ । क्षमताभन्दा बढी भारबहन गर्ने सवारीसाधनलाई कानूनी कारबाही गरिने प्रदेश यातायात व्यवस्था सेवा कार्यलयका प्रमुख पोषण थापाले बताउनुभयो ।

हाल सवारी अनुमतिपत्रको स्मार्टकार्ड अहिलेसम्म काठमाडौं मात्रै छापिने व्यवस्था छ । यातायात ऐन संशोधन भएपछि हेटौंडास्थित प्रदेश यातायातबाट केही महिनाभित्रै प्रदेशका १३ जिल्लामा सवारी अनुमतिपत्रका लागि नयाँ स्मार्टकार्ड विवरण गरिने प्रमुख थापाले जानकारी दिनुभयो । प्रदेश २ को वीरगञ्जको यातायात व्यवस्था कार्यालयमा अनुमतिपत्र बितरण कार्य खारेज गरिने भएको छ । त्यहाँबाट विवरण ३ प्रदेश यातायात कार्यालयबाटै वितरण गर्ने अधिकार प्रत्यायोजित भइसकेको कार्यालयले जनाएको छ ।