राजनीतिक नेतृत्व नसच्चिएसम्म सुशासन हुँदैनः देवकोटा

९ भाद्र २०७६, सोमबार १९:५८

काठमाडौं, नेपाल निजामती कर्मचारी संगठनले राजनीतिक नेतृत्व नसच्चिएसम्म मुलुकमा सुशासन कायम हुन नसक्ने बताएको छ। राजधानीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष केदारप्रसाद देवकोटाले भ्रष्टाचार र समयमै काम सम्पन्न हुन नसक्नुमा सधैँ कर्मचारी प्रशासनलाई दोषारोपण गर्ने काम भएको भन्दै उनले आपत्ति जनाए। उनले कर्मचारीलाई नियमविपरीत कामका लागि निर्देशन दिने राजनीतिक नेतृत्व नै सच्चिनुपर्ने आवश्यकता औल्याए।

सरकारका मन्त्री, स्थानीय जनप्रतिनिधि लगायतले जेठ असारमा करोडौको काम गर्न निर्देशन दिने गरेको भन्दै उनले नियमविपरीत काम गर्न नमानेपछि कर्मचारीलाई दोषारोपण गर्ने गरिएको दाबी गरे। सार्वजनिक खरिद ऐनविपरीत काम गर्न अस्वीकार गरेपछि नेतृत्वले कर्मचारी प्रशासनले काम गर्न दिएन भन्ने गरेको उल्लेख गर्दै उनले सबैभन्दा पहिले ुपानीको मुहान नै सफाु हुनुपर्ने तर्क गरे।

उनले नियमसंगत काम गर्नेलाई पुरस्कृत र नियमविपरीत गर्नेलाई दण्डित गर्ने काम नभएसम्म सुशासनको क्षेत्रमा सधैँ प्रश्न उठिरहने बताए। उनले नेपाल सरकारले दरबन्दीभन्दा बढी संख्यामा कर्मचारी समायोजन गरेकाले स्थानीय तहले हाजिरी नगराउँदा १ सय ५० बढी कर्मचारीहरु अलपत्र परेको बताए। दरबन्दी श्रृजना गर्दा सम्बन्धित नगरपालिका, स्थानीय तह र सरकारबीच समन्वय हुन नसक्दा समस्या भएको उनको तर्क थियो।

पत्रकार सम्मेलनमा पेशागत महासंघ नेपालसँग आवद्ध निजामती कर्मचारीहरुको राष्ट्रियस्तरको ट्रेड युनियन नेपाल निजामती कर्मचारी संगठनको यही भदौ ६ र ७ गते काठमाण्डौमा सम्पन्न छैठौँ बैठकले गरेका निर्णयहरु सार्वजनिक गरिएको थियो।