
काठमाडौं , विवादस्पद आदेश दिने उच्च अदालत पोखराका अर्का न्यायाधीशले पनि राजीनामा दिएका छन् । निजी व्यवसायिक संस्था गोर्खा बु्रअरीको पक्षमा अन्तरिम आदेश दिने रामचन्द्र यादवले राजीनामा दिएका हुन् ।
क्षेत्राधिकार नाघेर आदेश दिएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलासले सो मुद्दा हेर्नेमाथि कारबाही अघि बढाउनु भनेर आदेश दिएका थिए । ९ साउनमा प्रधानन्यायाधीश राणाको एकल इजलासले क्षेत्राधिकार नभएको मुद्दा दर्ता गरी अन्तरिम आदेश जारी गरेको भन्दै उच्च अदालत पोखरामा कार्यरत न्यायाधीश यादव, नरबहादुर शाही र जीवनहरि अधिकारीमाथि छानबिन र कारबाही गर्न न्यायपरिषद्मा लेखी पठाउन आदेश दिएको थियो ।
न्यायपरिषद्ले पनि सो घटनाका विषयमा छानबिन गर्न न्यायाधीश सपना प्रधान मल्लको नेतृत्व छानबिन समिति बनिसकेको छ । यसअघि छानबिनमा तानिएका न्यायाधीश जीवनहरि अधिकारीले २ भदौमा राजीनामा दिइसकेका छन् ।
प्रदेश–३ को क्षेत्राधिकारभित्र रहेको मुद्दालाई गण्डकी प्रदेशमा लगेर हेरेपछि विवादमा तानिएका थिए । सर्वोच्चको आदेश लगत्तै तीनैजना न्यायाधीशलाई उच्च अदालत पोखराबाट न्यायपरिषद् सचिवालयमा काज सरुवा गरिएको थियो । आदेशपछि न्यायपरिषद् बैठकले उच्च अदालत पोखराका न्यायाधीशले जारी गरेको आदेशका विषयमा छानबिन गर्न सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । उक्त छानबिन समितिले उच्च अदालतले जारी गरेको आदेशका विषयमा छानबिन गरिरहेको छ ।
छानबिन समितिलाई बयान दिए लगत्तै यादवले पदबाट राजीनामा दिएका हुन् । उनले आफुले दिएको आदेश गलत नभएको भन्दै आदेशमा अडिग रहेको बताएका छन् । उनले अभियुक्त बनाएर पटक पटक बयानका लागि बोलाएकाले आफ्नो अपमान भएकाले राजीनामा दिएको बताएका छन् । प्रधानन्यायाधीश राणालाई बुझाएको राजीनामा पत्रमा गोर्खा ब्रुअरीका पक्षमा अन्तरिम आदेश जारी गर्दा कुनै ऐन–कानुन उल्लंघन नगरेको यादवले उल्लेख गरेका छन् ।
