संघ र स्थानीय तह राखेर प्रदेशलाई खारेज गर्नुपर्छः चित्रबहादुर केसी

८ भाद्र २०७६, आईतवार १८:५७

काठमाण्डौ , राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले सत्तापक्ष र प्रमुख प्रतिपक्षका कारण गणतन्त्रमा कालो बादल लागेको बताउनु भएको छ ।

जनताले ठूलो दुःख गरेर ल्याएको गणतन्त्र संस्थागत गर्न सत्तापक्ष र प्रमुख प्रतिपक्ष चुकेको उहाँले बताउनु भयो । राजमो निकट अखिल नेपाल उद्योग व्यापार संघ बागलुङले आइतबार सदरमुकाममा आयोजना गरेको प्रशिक्षण भेलामा बोल्दै केसीले संघीयताले मुलुकमा राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डता कमजोर हुँदै गएको उल्लेख गर्नु भयो ।

संघीयताले काटेको घाउमा नुन चुक लगाउने काम मात्र गरेको उहाँको भनाई छ । संघीय प्रणाली मुलुकले थेग्न नसक्ने उल्लेख गर्दै उहाँले संघ र स्थानीय तह राखेर प्रदेशलाई खारेज गर्नुपर्ने बताउनु भयो । संघीयताको आवरणमा लगाइएको चर्को कर व्यवस्थाको बाधक बन्न सक्ने उहाँले चेतावनी दिनु भयो ।

अर्को प्रसंगमा उहाँले वर्तमान दुई तिहाईको सरकार कम्युनिस्टको जस्तो नभएको बताउनु भयो । ‘दलाल र ठेकेदारसँग कमिसन खाने, खुलेआम भ्रष्टाचार गर्ने पनि कन्युनिस्ट हुन्छ ? केसीले भन्नु भयो , ‘राजनीति जनताका लागि नभएर अफ्ना लागि मात्र भइरहेको छ ।’

उहाँले प्रमुख प्रतिपक्ष कांग्रेसको पनि भ्रष्टाचारमा मिलेमतो रहेको आरोप लगाउनु भयो ।