
काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी संचालनको कार्यशैलीप्रति असन्तुष्टि जनाउनु भएको छ ।
पार्टीनिकट प्रोग्रेसिभ इन्जिनियरिङ एशोसियसनको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले घुमाउरो शैलीमा प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले एकल निर्णयबाट पार्टी चलाइरहेको आरोप लगाउनु भएको हो ।
‘कम्युनिष्ट पार्टीमा हिजो सामूहिक निर्णय, व्यक्तिगत जिम्मेवारी हुन्थ्यो’ प्रचण्डले भन्नु भयो , आजकालचाहिँ उल्टिएको छ, व्यक्तिगत निर्णय हुन्छ, जिम्मेवारी चाहिँ समूहले लिइदिनुपर्ने अवस्था छ ।’
कम्युनिष्टहरु सत्तामा नपुग्दासम्म समाज र जनताका निम्ति त्याग र बलिदानको कुरा गर्ने तर सत्तामा पुगेपछि सबै कुरा बिर्सिँदै जाने भन्दै उहाँले सरकारको कामको पनि आलोचना गर्नु भयो ।
‘बुर्जुवाहरुले कम्युनिष्टहरुलाई लडेर कुनै हालतमा हराउन सक्दैनन्, प्रचण्डले भन्नु भयो, तर कम्युनिष्टहरु जब सत्तामा पुग्छन् उनीहरुलाई पनि बुर्जुवाकरण गरिदिन्छन्’, उहाँले भन्नु भयो , ‘एउटा गोली पनि खर्च नगरी सत्ता पल्टाइदिन्छन्।’
अब पनि चनाखो नहुने र आफूलाई सुधार गरेर अघि नबढ्ने हो भने जनताले लखेट्ने उहाँको तर्क छ । ‘हिजो राजा महाराजा लखेटेका जनता हुन्, प्रचण्डले भन्नु भयो, कम्युनिष्टहरु पनि राजा महाराजा जस्तो हुन खोजे भने बाँकी राख्दैनन, हामीकहाँ त्यस्तै लक्षण देखिँदैछ’, उहाँले भन्नु भयो ।
हिजो आफूहरु निकै अनुशासित भएकैले पार्टी एकता गरी यो अवस्थासम्म आइपुगेको भन्दै प्रचण्डले पार्टीभित्र अराजकता र अनुशासनहिनता बढ्दै गएको बताउनु भयो । जसले जे मन लाग्यो त्यही बोल्नै प्रवृत्ति बढ्दै गएको भन्दै प्रचण्डले यसलाई सुधार गरेर अघि बढ्नुपर्नेमा जोड दिनु भयो ।
