बन्ने भयो ‘लक्का जवान’

३ भाद्र २०७६, मंगलवार ११:११

काठमाडौं , हास्य कलाकार शिवहरि पौडेलको निर्देशनमा फिल्म ‘लक्का जवान’ निर्माण हुने भएको छ। फिल्मको सोमबार ललितपुरस्थित बगलामुखी मन्दिरमा शुभ साइत गरिएको हो।
किरण केसी, दिलीप रायमाझी, सुरेन्द्र केसीको लगानीमा बन्न लागेको फिल्म सामाजिक कथावस्तुमा कमेडी शैलीमा निर्माण हुने बताइएको छ।

फिल्ममा किरण केसी, दिलीप रायमाझी, राजाराम पौडेल, प्रियंका कार्की, वर्षा सिवाकोटी, सलोन बस्नेतलगायतका कलाकारको मुख्य भूमिका रहने मुहूर्त समारोहमा जानकारी दिइयो।

फिल्मको छायांकन भदौ ४ गते काभ्रेबाट सुरु हुने जानकारी निर्देशक पौडेलले दिए। ७० प्रतिशत काभ्रे र ३० प्रतिशत काठमाडौंमा छायांकन हुने छ। ‘जिरे खुर्सानी’को अभिनय तथा निर्देशन गरेर चर्चामा आएका पौडेलको यो डेब्यु फिल्म हो।