काजकिरिया गरेको १५ वर्षपछि घर फर्के माओवादी पूर्वलडाकु

२३ श्रावण २०७६, बिहीबार ११:१२

काठमाडौं , माओवादीले सञ्चालन गरेको दस वर्षे ‘जनयुद्ध’ मा मृत्यु भएका भनिएका एक युवक १५ वर्षपछि घर फर्केका छन् । रूकुममा काजकिरिया गरिएको १५ वर्षपछि एक पूर्वलडाकु साउन १९ गते घर फर्केका हुन् ।

परिवारका सदस्यले उनी युद्धमा मरेको ठानेर काजकिरिया गरेका थिए । रूकुमको खारामा सरकारी सुरक्षाकर्मी र तत्कालीन नेकपा माओवादीका लडाकुबीच भएको लडाइँका क्रममा बेपत्ता भएका सानीभेरी गाउँपालिका–११ का उमेश विश्वकर्मा परिवारले मरेको ठानेर किरिया गरेको अवस्थामा घर आएका हुन् ।

२०६१ सालमा खारा लडाइँमा सहभागी भएका उनको अवस्था खुलेको थिएन। उनी घर नआएपछि परिवारले मृत्यु भइसकेको भनेर काजकिरिया गरेको थियो । ‘छोराको अवस्थाबारे धेरै खोजी ग¥यौँ, पार्टीले पनि खोज्यो,’ आमा मनकुमारीले भनिन्, ‘लडाइँमा गएको छोराको मृत्यु भयो होला भनेर हाम्रो परम्पराअनुसार काजकिरिया गरेका थियौं ।’

काजकिरिया गरिसकेको छोरा घर आएपछि अहिले मनकुमारीको परिवारमा खुसीको सीमा छैन । उमेश घर पुग्दा सुरुमा आमाले विश्वासै गरिनन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।