
काभ्रे , बनेपा नगरपालिका ६ मा डेरा गरी बस्दै आएका ध्रुर्व खरेलका तीन वर्षीय छोरा अभिनव शुक्रबार बिहान पानी ट्याङ्कीमा मृत अवस्थामा फेला परेका छन् ।
चितवनको राप्ती नगरपालिका स्थाई घर भएका खरेल दम्पती घर नजीकै ग्यारेज सञ्चालन गर्दै आएका थिए । मृत अवस्थामा भेटिएका अभिनवलाई एक घण्टा अघि मात्र ओछ्यानमै छाडेर उनीहरु पानी लिन गएका थिए । कोठामा बुवालाई नाती हेदै गर्नु भनेर हिडेका खरेल दम्पती पानी लिएर आउदा अभिवन हराइसकेका थिए ।
बालकका बुवा ध्रुव खरेलका अनुसार आफु पानी लिन निस्किएपछि बुवा चर्पी गएको समयमा छोरा हराएको हुनसक्ने बताउँछन् । बालक हराराएपछि खोजतलास गर्दा नभेटिएपछि रिजर्ब ट्याङ्की खोलेर हेर्दा बालक मृत अवस्थामा ट्याङ्की भित्र फेला परेका थिए । उनका अनुसार तीन वर्षको बालकले ट्याङ्की ढकन खोल्न नसक्ने बताउँदै अभिनवको कसैले हत्या गरेर फालिएको हुनसक्ने बताउँछन् ।
इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईले घटना शंकास्पद भएकोले सुस्म रुपमा अनुसन्धान गरी सत्य तत्य छिटै बाहिर ल्याउने बताए । निदाइरहेको बालकको केही समयपछि नै ट्याङ्की भित्र शव भेटिनु रहस्यमय घटना भएको भन्दै स्थानीयले सत्य तथ्य छानविन गर्न प्रहरीलाई आग्रह गरेका छन् ।
