समाजवादी पार्टीको प्रवक्तामा तिवारीको चर्चा किन हुदै छ ?

२४ श्रावण २०७६, शुक्रबार १२:२१

काठमाडौं , समाजवादी पार्टी नेपालमा प्रवक्ताको खोजी भइरहेको छ । पार्टी एकीकरण भएको तीन महिना बितिसक्दा पनि प्रवक्ता नहुँदा पार्टीको आधिकारिक धारणा सहज तरिकाले बाहिर नपुगेपछि प्रवक्ताको खोजी भएको हो ।

प्रवक्ताका लागि धेरै नेताहरुले इच्छा देखाएपनि नारायण तिवारीको चर्चा चलेको छ । समाजवादी पार्टीको प्रवक्तामा तिवारीको चर्चा किन हुदै छ ? नयाँ शक्ति पार्टी हुँदा केन्द्रीय सदस्य रहेका तिवारी संघीय समाजवादी पार्टीसँगको एकतापछि विज्ञ समितिका सदस्य छन् । तिवारीसँग दुई दशक लामो पत्रकारिताको अनुभव समेत छ ।

प्रेस जगत्सँग राम्रो सम्बन्ध रहेकाले उनलाई प्रवक्ता बनाउने चाहना समाजवादी पार्टी नेपालका अध्यक्ष डा।बाबुराम भट्टराईले समेत राखेको बुझिएको छ । भट्टराईले तिवारीको नाम प्रस्ताव गर्ने तयारी गरेको बुझिएको छ ।

समाजवादी पार्टी नेपालका अर्का अध्यक्ष उपेन्द्र यादव सहमत भएमा तिवारी प्रवक्ता बन्ने पक्कापक्की भएको छ ।