महिला स्वास्थ्यबारे गोष्ठी सम्पन्न

२६ श्रावण २०७६, आईतवार १८:०२

काठमाडौं, नेपालमा महिला स्वास्थ्यको महत्वलाई बढावा दिने उद्देश्यले नेसोग (स्त्री रोग एवं प्रसूति चिकित्सक समाज नेपाल) ले भारतको औषधि उत्पादक कम्पनी मेयर भाइटाबायोटिक्ससँग मिलेर स्त्रीरोग समुदायको निम्ति नलेज क्याफे नामक गोष्ठी आयोजना गरेको छ ।

नेसोग तथा मेयर भाइटाबायोटिक्सको आर्टिस्ट (एसियन रिसर्च एण्ड ट्रेनिङ इन्स्टिट्युट फर स्किल ट्रान्सफर) सँगको सहकार्यमा आयोजित उक्त गोष्ठीले हाम्रो जीवनको प्रत्येक चरणमा विभिन्न पौष्टिक आहारहरुको महत्वको बारेमा प्रकाश पारेको थियो ।

बेंगलोर भारतका प्रख्यात स्त्री रोग तथा प्रसूति विशेषज्ञ डा हेमा दिवाकर उक्त कार्यक्रममा प्रमुख वक्ताको रुपमा उपस्थित थिए । त्यसैगरी प्राध्यापक डा हिरा तुलाधर तथा प्राध्यापक डा दिव्य श्री मल्ल कार्यक्रमका सभापति थिए । कार्यक्रम अन्तर्गत छलफलमा विभिन्न प्यानलिस्टहरुको उपस्थिति रहेको थियो, जसले विभिन्न विषयहरुमा छलफल गरे ।

कार्यक्रममा महिलाहरुका लागि क्याल्सियमको आवश्यकता, कसरी क्याल्सियमले स्वास्थ्यलाई मद्दत गर्छ, गर्भावस्थामा मधुमेहका लागि फिगो निर्देशिकाको कार्यान्वयन लगायतका विषयहरुमा छलफल भएको थियो ।