भीरबाट खसालेर दर्जनौं गाई मारिए

१३ भाद्र २०७६, शुक्रबार १५:०७

सुर्खेत, सुर्खेतमा दर्जनौं गाई भीरबाट खसालेर मारिएका छन् । नेपालगंजबाट नियन्त्रणमा लिइएका छाडा चौपाया सुर्खेतमा ल्याएर भीरबाट खसालिएको हो ।

प्रहरीका अनुसार बिहीबार नेपालगंजबाट दैलेख लैजाने भनि ल्याइएका ती गाई भीरबाट खसालेर मारिएका हुन् । रातको समयमा भीरबाट खसालिएका मध्ये डेढ सय भन्दा बढी गाई घाइते छन् । आठ वटा ट्रकमा ल्याइएका गाई भीरबाट खसालिएको र जंगलमा छाडेको पाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

स्थानीय बासिन्दाले भीरबाट खसालेर सामूहिक गौहत्या गरिएको आरोप लगाएका छन् । ट्रकमा राखेर ल्याइएका गाई भीरबाट खसालेर मारिएको र जंगलमा अलपत्र अवस्थामा छाडिएको भन्दै दोषीलाई कारबाही गर्न स्थानीयले माग गरेका हुन् ।

मरेका र घाइते रहेका गाईमध्ये केहीको कानमा ट्यागसमेत लगाइएको छ । करिब तीन सयको संख्यामा गाई भीरबाट खसालिएको र जंगलमा छाडिएको भेटिएपछि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।