जतिवेला कपिलले महिनाभरि काम गरेर १५ सय भारु बुझ्थे

२९ श्रावण २०७६, बुधबार १२:४६

काठमाडौं , सञ्चारमाध्यमहरूका अनुसार ‘द कपिल शर्मा सो’बाट कमेडियन कपिल शर्माले प्रतिएपिसोड कम्तीमा १५ लाख भारतीय रुपैयाँ बुझ्छन् । तर, कुनै समय यस्तो पनि थियो, जतिवेला कपिलले महिनाभरि काम गरेर १५ सय भारु लिन्थे ।

उनले ‘द कपिल शर्मा सो’मै यसको खुलासा गरेका हुन् । कार्यक्रममा आफ्नो फिल्म प्रमोसनका लागि सोनाक्षी सिन्हा र बादशाह पुगेका थिए । उनीहरूसँग कपिलले प्रिन्टिङ मिलमा काम गर्दाको अनुभव साटेका हुन् ।

कपिलले आफ्नो जागिरको सुरुवात कपडा छपाइ हुने मिलबाट गरेका थिए । उनको पहिलो तलब १५ सय रुपैयाँ थियो । कपिलको कुरा सुनेपछि अर्चना पुर सिंहले ठट्टा गर्दै भनिन्, ‘अब उनी नोट छाप्दै छन् ।’

र्‍यापरबाट अभिनेता बनेका बादशाहले पनि यस कार्यक्रममा आफ्नो पहिलो कमाइको खुलासा गरे । बादशाहका अनुसार उनले पहिलोपटक र्‍यापर प्रस्तुति दिँदा तीन सय भारतीय रुपैयाँ कमाएका थिए । ‘खानदानी सफाखाना’ फिल्ममा बादशाहले सोनाक्षीसँग स्क्रिन सेयर गरेका छन् । यो फिल्म २ अगस्टमा रिलिज भएको थियो, तर सुरुवात राम्रो भएन । यो समाचार नयाँपत्रिकामा छ ।