आयातभन्दा निर्यातलाई प्राथमिकता दिऔँः उपराष्ट्रपति

१४ श्रावण २०७६, मंगलवार १३:०८

काठमाठौं , उपराष्ट्रपति नन्दकिशोर पुनले व्यापार घाटा न्यूनीकरण गर्न निर्यात वृद्धि गर्नुको विकल्प नभएको बताउनु भएको छ । नेपाल फ्रेट फरवार्ड एसोसिएसनको २५औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उपराष्ट्रपति पुनले देशभित्र उत्पादन नहुने वस्तु मात्र आयात गर्नुपर्नेमा जोड
दिनु भएको छ । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले नेपालमा कार्गो व्यवसायलाई बलियो बनाउन क्षमता वृद्धिमा ध्यान दिनुपर्ने बताउनु भयो । नेपाल–भारतबीचको व्यापारलाई बढाउन पूर्वाधार निर्माणमा ध्यान दिन आवश्यक रहेको उहाँको भनाइ छ ।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले अन्तर्राष्ट्रिय व्यापारमा कार्गो व्यवसायीको भूमिका महत्वपूर्ण हुने बताउनु भयो । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले पारवहनलाई सुविधा चुस्त बनाउन प्रविधिको प्रयोग र भन्सार बिन्दुमा दु्रत काम हुने प्रणालीको विकासमा जोड दिनुपर्ने बताउनु भयो । नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश मोरले व्यापार घाटा न्यून गराउनमा कार्गो व्यवसायको महत्वपूर्ण भूमिका हुने बताउनु भयो । कार्यक्रममा कार्गो व्यवसायीमध्येबाट प्रमोद पाण्डेलाई र व्यवसायबाहिरबाट वायुसेवा निगमका भीष्मराज ढुंगानालाई नेफ्टा अवार्डबाट सम्मान गरिएको छ ।