सामाजिक सुरक्षा कोषको सीईओमा ज्ञवाली नियुक्त

१४ श्रावण २०७६, मंगलवार ११:३२

काठमाडौं, सामाजिक सुरक्षा कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कपिलमणि ज्ञवाली नियुक्त हुनु भएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा रहेको छनोट समितिले ज्ञवालीलाई नियुक्त दिने निर्णय गरेको हो ।

छनोट समितिले प्रतिस्पर्धीहरूसँगको व्यावसायिक कार्ययोजना, अन्तर्वार्ता, शैक्षिक योग्यता र कार्य अनुभव लगायतका पक्षलाई समेटेर सीईओ नियुक्ति दिने निर्णय गरेको हो ।

छनोट समितिमा संयोजक शिवाकोटीका अतिरिक्त अर्थ मन्त्रालयका सहसचिव हरिशरण पुडासैनी र कानुनका सहसचिव हुमबहादुर केसी सदस्य थिए ।

सूचना प्रविधिका क्षेत्रमा बढी विज्ञ मानिएका ज्ञवालीले राष्ट्रिय वाणिज्य बैंकबाट गत १३ भदौमा अवकाश लिनु भएको थियो । राष्ट्रिय वाणिज्य बैंकमा २०४५ सालको १३ भदौमा प्रवेश गर्नु भएका ज्ञवाली ३० वर्षे सेवा अवधि पूरा गरी नायब महाप्रबन्धकबाट अवकाश पाउनु भएको हो ।
उहाँले राष्ट्रिय वाणिज्य बैंकलाई सूचना प्रविधिको युगमा प्रवेश गराउन महत्त्वपूर्ण भूमिका खेल्नु भएको थियो । सुरक्षा कोष नयाँ अवधारणा भएकाले त्यसलाई व्यवस्थित बनाउने जिम्मेवारी भने उहाँका अघि चुनौतीका रूपमा छ ।