
काठमाडौं, राष्ट्रिय जनता पार्टी नेपालका संयोजक राजकिशोर यादवले सर्लाहीमा प्रहरीको गोली लागेर मृत्यु भएका दुईवटा घटनाको तत्काल छानबिनका लागि संसदीय समिति बनाउन सरकारलाई दबाब दिनु भएको छ ।
उहाँले सर्लाही घटनाको छानबिनका लागि संसदीय समिति गठन नगरे भोलि सोमबार बस्ने प्रतिनिधिसभा बैठक पनि अवरुद्ध पार्ने चेतावनीसमेत दिनु भयो ।
आइतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले सर्लाहीमा भएको दुवै मृत्यु प्रकरण गैरन्यायिक भएकाले आफ्नो पार्टीले संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गर्दै आएको बताउनु भयो ।
नेत्रविक्रम चन्द ‘विप्लव’समूहका सर्लाही इन्चार्ज कुमार पौडेल र सर्लाही ईश्वरपुरका सरोजनारायण सिंहको प्रहरीको गोली लागेर मृत्यु भएको थियो। त्यसको न्यायिक छानबिनका लागि संसदीय समिति गठन गर्न माग गर्दै प्रमुख प्रतिपक्ष दल कांग्रेस र राष्ट्रिय जनता पार्टी, नेपालले यसअघि पनि प्रतिनिधिसभा बैठक अवरुद्ध पार्दै आएका थिए।
यस्तै संयोजक यादवले पार्टीको आसन्न महाधिवेशनको तयारीको कामलाई पनि तीव्रता दिइएको बताउनु भयो । उहाँले उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी, नेपालसँग पार्टी एकताका लागि वार्ता प्रक्रियालाई जारी राखिएको पनि बताउनु भयो ।
