
रसुवा, रसुवाको गोसाइकुण्ड गाउँपालिका २ तातोपानी डाँडाबाट पहिरो खस्दा काठमाडौंदेखि जाँदै गरेको ना १ ज ७८२४ नम्बरको टाटा सुमो गाडी पुरिएको छ । गाडीमा रहेका दुई जना यात्रुको पहिरोले पुरिएर मृत्यु भएको छ । घटनामा ७ जना घाइते भएका छन् । उनीहरूको उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
गाडीमा ९ जना यात्रु रहेको प्रहरी नायब उपरीक्षक भागेन्द्र पुरुष ढकालले जानकारी दिए । मृतक र घाइतेको पहिचान नखुलेको प्रहरीले जनायो । घाइतेलाई उपचारार्थ काठमाडौं पठाउन हेलिकोप्टर मगाए पनि खराब मौसमका कारण आउन नसकेको ढकालले बताए । उनले घाइतेलाई अन्य उपायबाट काठमाडौं पठाउने तयारी भइरहेको उल्लेख गरे ।
