मेगा बैंक नौ वर्ष पूरा गरी दसौं वर्षमा प्रवेश

८ श्रावण २०७६, बुधबार ११:०२

काठमाडौं, मेगा बैंक नौ वर्ष पूरा गरी दसौं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा बैंकका अध्यक्ष भोजबहादुर शाहले समकालीन बैंकमा आफनो बैंकले अतुलनीय सफलता प्राप्त गर्न सकेकोमा गर्व लागेको बताए ।

विगत ९ वर्षसम्मको समीक्षा गर्दा बैंकले शाखा सञ्जाल विस्तारमा झन्डै ८ गुणा, एटीएम सञ्जालको विस्तारमा ६ गुणा, निक्षेप संकलनमा १६ गुणा, कर्जा प्रवाहमा १५ गुणा, खुद नाफा आर्जनमा ७० गुणा, रोजगारीको अवसर सृजनाको दृष्टिकोणले ११ गुणा र राज्यलाई बुझाएको करको तुलनामा ७८ गुणाले फड्को मारेको पनि अध्यक्ष शाहले बताउ । उनले भने,‘जुन उद्देश्यका साथ ९ वर्षअघि बैंकको स्थापना गरिएको थियो, त्यो सोचले सार्थकता प्राप्त गरेको मैले अनुभूति गरेको छु ।’

बैंकको दीर्घकालीन रणनीति अनुसार, देशका ७ वटै प्रदेशका सबै जिल्ला सदरमुकाम, आर्थिक तथा व्यापारिक कारोबार केन्द्र, हुलाकी तथा मध्यपहाडी राजमार्ग, गाउँपालिका, नगरपालिका र उपमहानगरपालिका, महानगरपालिकामा बैंकको सञ्जाल विस्तार गर्ने योजना रहेको उनले बताए । सोहीअनुरुप बुटवलमा प्रादेशिक भवन निर्माण भइरहेको जानकारी दिँदै अध्यक्ष शाहले केन्द्रीय कार्यालय सहित ७ वटै प्रदेशमा आफ्नै घरजग्गामा प्रादेशिक कार्यालय सञ्चालन गर्ने कार्य योजना रहेको बताए ।

उनले सरकारद्वारा प्राथमिकता तोकिएका कृषि, पर्यटन र जलविद्युत क्षेत्रको व्यावसायिक प्रवर्धन गर्न लगानी वृद्धि गर्दै जाने बताए । सरकारको ‘मर्जर’ नीतिलाई आत्मसात गर्दै मेगा बैंकले मर्जर कमिटी बनाएको अध्यक्ष शाहले जानकारी दिए । ‘मर्जरलाई हामीले नजिकबाट नियालिरहेका छौँ । सोही अनुरुप मर्जर कमिटी बनिसकेको छ । मेगा बैंकले वित्तीय बजारमा प्राप्त गरेको परिचयलाई तथा आर्जन गरेको भरोसा र विश्वासलाई कायम राख्न हामीसँग सामिप्यता राख्ने र सोच मिल्ने वित्तीय संस्थालाई आवद्ध गर्दै अझ शसक्त र व्यवस्थित ढंगले अगाडि बढ्नुको विकल्प हामीसँग छैन ।’ उनले भने ।

कार्यक्रममा मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले स्थापनाकालदेखि नै मेगा बैंकले लगानीको उचित प्रतिफल दिलाउन सफल भएको बताइन् । एक दशकमै मेगा बैंकले समकालीन बैंकको तुलनामा सबै हिसाबले व्यावसायिक फड्को मार्न सफल भएकोमा उनले जोड दिइन् ।

मेगा बैंकले डिजिटाइजेसन र नवीनतम प्रविधि भित्रयाएको बताउँदै क्यूआर कोड पनि त्यसकै उदाहरण भएको सीईओ खुञ्जेलीले बताइन् । खुञ्जेलीले ‘एक शाखा, एक छोरी’ छात्रवृत्ति योजनाको घोषणा पनि गरिन् । छोरीको उज्ज्वल भविष्यलाई सुनिश्चित गर्ने प्रयासस्वरुप बैंकले ‘शिक्षा नै ज्योति अभियान’ अन्तर्गत प्रत्येक शाखाबाट १÷१ जना छात्रालाई छनोट गरी १२ कक्षासम्मको अध्ययनका लागि आर्थिक सहायताको शुरुवात भइसकेको बताइन् ।

हलोदेखि हाइड्रो’सम्म भन्ने नारा लिएको मेगा बैंकको गत आर्थिक वर्षमा निक्षेप संकलन १९ अर्ब बढेर करिब ८२ अर्ब पुगेको छ । यसैगरी, कर्जा प्रवाह १५ अर्ब ५० करोड बढेर करिब ७३ अर्ब पुगेको छ । ग्राहक संख्या झण्डै १ लाख ४६ हजार बढेर ६ लाख ४३ हजार पुगेको छ ।

कर्जाको औसत आकार ३३ लाख र निक्षेपको १ लाख २७ हजार रहेको छ । मुलुकभर मेगा बैंकका १०२ शाखा र १९ एक्सटेन्सन काउन्टर छन् । यसैगरी, १०२ एटीएम मेसिन, ११९ शाखारहित बैंकिङ केन्द्र र २५ सय मेगा रेमिट एजेन्टको सञ्जाल फैलिएको पनि विज्ञप्तिमा उल्लेख छ ।