दिन प्रति दिन तरकारीको भाउ बढदै

१४ श्रावण २०७६, मंगलवार ११:५८


काठमाडौं, केही दिनदेखि तरकारीको भाउ बढ्न थालेको छ । बाढी पहिरो र विषादी चेकजाँचको बहानामा व्यवसायीले आफूखुसी तरकारीको भाउ बढाउँदा उपभोक्ता भने मारमा परेका छन् ।

व्यापारी र बिचौलियाले आफ्नो स्वार्थका लागि तरकारीको भाउ बढाउने गरेका छन् । बढेको भाउ भने किसानले पाउने गरेका छैनन् । तरकारीको भाउ वृद्धिका लागि स—साना कारण नै व्यवसायीका लागि पर्याप्त बन्ने गरेको छ । एक महिनाको अवधिमा कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको फलफूल तथा तरकारीको मूल्यलाई आधार मान्ने हो भने उपभोक्ताको भान्सामा दैनिक प्रयोग हुने आलु, प्याज, टमाटर तथा खुर्सानीलगायतको मूल्य अतिउच्च रूपमा बढेको छ ।

झन्डै एक महिनाअघि ९५ रुपैयाँ प्रतिकेजी पर्ने गोलभेडा ११० रुपैयाँ प्रतिकेजी पुगेको छ । यस्तै ४८ रुपैयाँ प्रतिकेजी पर्ने आलुको मूल्य बढेर ५५ रुपैयाँ पुगेको छ । ३५ रुपैयाँ प्रतिकेजीको सेतो आलु अहिले ४५ रुपैयाँ छ । ६५ रुपैयाँप्रति केजीको रायोको साग सोमबार १०५ रुपैयाँ पुगेको छ ।