गुठी विधेयक फिर्ता होइन खारेज गर्नु पर्छः कमल थापा

८ असार २०७६, आईतवार १५:२९

काठमाडौं , राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारको कार्यशैली सर्वसत्तावाद उन्मुख हुदै गएको निचोड निकालेको छ। आइतबार पार्टीको केन्द्रीय कार्य समितिको विस्तारित बैठकको निर्णय सार्वजनिक गर्दै अध्यक्ष कमल थापाले सरकार सर्वसत्तावादतर्फ उन्मुख भएकोमा चिन्ता व्यक्त गर्नु भयो । उहाँले अनुसन्धान र कारवाही गर्ने निकायलाई प्रधानमन्त्री कार्यालय अन्तर्गत केन्द्रीकृत गर्ने , मिडिया काउन्सिल विधेयकमार्फत् सञ्चार माध्यमलाई नियन्त्रणमा लिने र मानवअधिकार आयोगलाई निस्कृय बनाउने प्रयासले सरकारको सर्वसत्तावादको चरित्र स्पष्ट पारेको उल्लेख गर्नु भयो । अध्यक्ष थापाले प्रधानमन्त्रीले प्रधानसेनापति समेतलाई बाईपास गरि सेना परिचालनको अधिकार लिन खोज्नु, भ्रष्टाचार बढ्दै जानु, संवैधानिक निकाय, आयोग, प्रशासन लगायतमा क्षमता र योग्यता भन्दा पार्टीप्रति आस्था राख्नेलाई मात्रै नियुक्त गर्ने गरिएको टिप्पणी गर्नु भयो । राप्रपाले विवादास्पद गुठी विधेयक फिर्ता नभई पूर्ण खारेजीको माग गरेको छ । राप्रपाले सरकारलाई बुझाएको २२ बुँदे मागहरु पुरा नभए दोश्रो चरणको संघर्ष थाल्ने चेतावनी दिएको छ ।