अख्तियार तात्यो, कर्मचारीको सम्पत्ति छानबिन

८ असार २०७६, आईतवार १४:४७

काठमाडौं , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न निकायमा कार्यरत झन्डै ३ सय कर्मचारीको सम्पत्तिमाथि छानबिन थालेको छ । अख्तियारले ती कर्मचारीलाई सम्पत्ति विवरण भराउँदै सम्पतिको छानबिन थालेको हो ।
अख्तियार स्रोतका अनुसार कर्मचारीका अस्वाभाविक जीवनशैली, स्रोत नखुलेको सम्पत्ति र इन्टिलिजेन्सको सूचनाका आधारमा ती कर्मचारीको सम्पत्तिमाथि छानबिन थालिएको हो । । यसरी छानबिनमा पर्नेमा बहालवाला र सेवा निवृत्त कर्मचारी छन् ।

अख्तियारले छानबिनमा परेका कर्मचारीलाई सम्पत्ति विवरण भराउन थालेको छ । स्रोतका अनुसार छानबिनमा परेकामा राजस्व, लेखा, यातायात, मालपोत, नापी, अध्यागमन र भन्सारमा लामो समयसम्म बसेका कर्मचारी छन् । यसैगरी, सिँचाइ मन्त्रालय र मातहतका निकायमा रहेका कर्मचारी पनि छानबिनको दायरामा छन् ।

राजस्व, भन्सार र लेखामा जागिर खाएका कर्मचारीले अवैध रूपमा आर्जन गरेको नगद सम्पत्ति हुन्डीमार्फत भारत, अस्ट्रेलिया तथा युरोपसम्म पठाउने गरेकाले छानबिन गर्न कठिन भएको अख्तियारले जनाएको छ

अख्तियारका एक अधिकारीका अनुसार अकुत सम्पत्ति छानबिन प्रक्रिया थालिएसँगै कर्मचारीले अख्तियारको कारबाहीबाट उम्कन विभिन्न रणनीति अपनाउन थालेका छन् । कर्मचारीले सम्पत्ति वैध देखाउन विभिन्न समयमा खरिद गरेका जग्गा कम मूल्यमा खरिद गरी बढी मूल्यमा बिक्री गरेको देखाउन थालेका छन् । राजस्व, भन्सार र लेखामा जागिर खाएका कर्मचारीले अवैध रूपमा आर्जन गरेको नगद सम्पत्ति हुन्डीमार्फत भारत, अस्ट्रेलिया तथा युरोपसम्म पठाउने गरेकाले छानबिन गर्न कठिन भएको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार अख्तियारको इन्टिलिजेन्स समूहले केही महिनादेखि ती कर्मचारीमाथि विशेष निगरानी गर्दै आइरहेको थियो । निगरानीपछि ती कर्मचारी र परिवारका सदस्यको जीवनशैलीमा आएको आस्वाभाविक परिवर्तन र अथाह सम्पत्ति देखिएपछि इन्टिलिजेन्स समूहले उनीहरूमाथि अकुत सम्पत्तिमा छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको थियो । सोही निष्कर्षका आधारमा अख्तियारले कर्मचारीमाथिको छानबिनलाई तीव्रता दिएको स्रोतले जानकारी दिएको छ ।
अख्तियारले कर्मचारीलाई अकुत सम्पत्तिमा छानबिन थाले पनि उच्च तहका राजनीतिक नेतृत्व र अन्य सार्वजनिक संस्थानमा कार्यरत उच्च अधिकारीमाथि भने छानबिन थाल्न सकेको छैन । उच्च तहका राजनीतिक नेतृत्वको सम्पत्ति छानबिनका लागि परेको उजुरीको पोको खोल्न नसकिएको अख्तियारले जनाएको छ । राजधानीबाट साभार