दाहालले आफु निकट स्थायी समिति सदस्यलाई खुमलटार निवास बोलाएर छलफल

८ असार २०७६, आईतवार १२:४४

नेपाल कम्युनिस्ट पाटी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले आफु निकट स्थायी समिति सदस्यलाई आइतबार खुमलटार निवास बोलाएर छलफल गर्नु भएको छ ।

नेकपाको शनिबार बसेको सचिवालय बैठकले राजनीतिक प्रतिवेदन प्रकाशन गर्ने निर्णय गरेको थियो । पूर्व माओवादी र एमाले एकिकरणका बेला राजनीतिक प्रतिवेदनमा ‘जनताको जनवाद’ हुने सहमती भएको थियो ।

प्रचण्डले सोही अनुरुप सम्पादन भएर राजनीतिक प्रतिवेदन प्रकाशित गर्न अर्का अध्यक्ष केपी शर्मा ओलीसँग कुरा भइसकेको बताउनु भएको थियो ।
सहमति विपरित पूर्व एमाले नेता ईश्वर पोखरेलले राजनीतिक प्रतिवेदनमा बहुदलीय जनवाद हुने भन्ने धारणा सार्वजनिक गरेपछि पाटीभित्र अविश्वास सृजना भएको थियो ।

प्रचण्ड निवास पुगेका नेकपा नेता अग्नी सापकोटाले शनिबार भएको सचिवालय बैठकको ब्रिफिङ र राजनीतिक प्रतिवेदन छाप्नेबारे अध्यक्षले जानकारी दिएको बताउनु भयो । ‘राजनीतिक प्रतिवेदन छाप्ने सहमति जुटिसकेको छ,’ उहाँले भन्नु भयो , ‘सहमति अनुसार नै सम्पादन गरेर प्रकाशित गर्ने अध्यक्षबाट जानकारी पायौं ।’