
काठमाडौं , टीकापुर हत्याकाण्ड घटाएको अभियोगमा कैद भुक्तान गरिरहेका रेशम चौधरीको उपचारमा सरकारले अपनाएको रवैयाप्रति समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आपत्ति जनाउनु भएको छ । साथै उहाँले सर्लाही घटनाको निष्पक्ष छानबिन गर्न पनि सरकारसँग माग गर्नु भएको छ ।
मेरुदण्डको समस्यापछि वीरमा उपचाररत चौधरीलाई १४ किलोको नेल लगाइएको घटनालाई लिएर चौतर्फी आलोचना भइरहेका बेला भट्टराईले पनि सरकारी रवैयाको आलोचना
गर्नु भएको हो ।
चौधरीलाई भेट्न शुक्रबार वीर पुग्नु भएका भट्टराईले खुट्टामा नेल लगाइएको तस्वीर पोस्ट गर्दै सरकारलाई मानवअधिकार र नियम कानून स्मरण गराउनु भयो ।
‘टीकापुर थारू विद्रोहको क्रममा थुनामा रहनु भएका सांसद रेशम चौधरीलाई वीर अस्पतालमा मेरूदण्डसम्बन्धी उपचार गराइरहँदा १४ किलोको नेल र हतकडी लगाउनु कति मानवअधिकार र नियमसंगत हो ? आफ्नै पार्टी सम्मिलित सरकारको कार्यशैलीप्रति प्रश्न गर्दै भट्टराईले सामाजिक सञ्जालमा लेखनु भएको छ ।
चौधरीलाई लगाइएको नेलसँग जोडेर भट्टराईले सत्तारुढ दलका नेतालाई गोलघरको यातना पनि स्मरण गराउनु भयो ।
यसैबीच, बाबुरामले प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका सर्लाही इञ्चार्ज मृत्युप्रकरणबारे चासो व्यक्त गर्नु भएको छ ।
सरकारले दोहोरो भिडन्तका क्रममा विप्लवका सिरहा इञ्चार्ज कुमार पौडेलको मृत्यु भएको बताउँदै आएको छ । तर विप्लव माओवादीले नियन्त्रणमा लिएर गैरन्यायिक हत्या गरेको भन्दै यसबारे स्वतन्त्र छानबिन गर्न माग गरेको छ ।
सिरहा घटनालाई लिएर सरकारमाथि प्रश्न उठिरहेका बेला भट्टराईले यसको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गर्नु भएको छ ।
