
काठमाडौं , सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीकी सांसद गंगा चौधरीले नेपाली कांग्रेसले गुठी विधेयकका बारेमा भ्रम फैलाउने काम गरेको बताउनु भएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा सांसद चौधरीले विधेयकका बारेमा भ्रामक प्रचार गरी चौतर्फी विरोध गर्न लगाएर कांग्रेसले किसानका छोराछोरीको गाँसबाँस खोस्ने काम गरेको दाबी गर्नु भयो । उहाँले भन्नु भयो , सामन्तवादी सोच भएका र खास प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले दुःखीहरूको मुहारमा खुसी देख्न सकेन। र, गुठी विधेयकको बारेमा भ्रामक प्रचार गरेर चौतर्फी विरोध गर्न लगाएर गरीब भूमिहीन किसानका छोराछोरीको गाँसबाँस खोस्न प्रयास गरी विधेयक फिर्ता गर्न खेल खेल्यो। सांसद चौधरीले गुठी विधेयक फिर्ताले गुठी पीडित किसानहरूको भावनामा ठेस पुगेको बताउनु भयो । उहाँले भन्नु भयो, गुठी विधेयक फिर्ताले गुठी पीडित किसानहरूको भावनामा ठेस पुगेको छ। गहभरी आँसु लिएर ठेला परेका हात, चिरा परेका खुट्टा, खाना नखाई भोकभोकै ठुलो खुल्ला मैदानबाट लाखौ गुठी पीडित भूमिहीन किसान भन्दै थिए । सरकार तिमीलाई धन्यवाद छ आज हाम्रो निम्ति कम्युनिस्ट सरकार छ। चौधरीले धर्म र संस्कृतिको नाममा अहिले पनि सामन्त र मालिकहरूबाट नै राज्यसत्ता सञ्चालन भइरहेको भन्दै रोष प्रकट गर्नु भयो । उहाँले सामन्तहरूको आँखा आफ्ना पूर्वजहरूको पसिना लुट्न लालायित भएको आरोप लगाउनु भयो ।
