
काठमाडौं , नेपाल कम्युनिष्ट पार्टी ( नेकपाका ) अध्यक्ष पुष्पकमल दाहालले बजेट पारित भएपछि केही मन्त्रीहरु हेरफेर हुन सक्ने बताउनु भएको छ । कास्कीमा भएको पत्रकार भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । मन्त्री हेरफेर हुन सक्नेबारेमा पत्रकारले राखेको जिज्ञासमा प्रचण्डले भन्नु भयो , “बजेटपछि सरकार पुनर्गठन गर्नुपर्छ भन्ने कोणबाट प्रधानमन्त्री र मेरोबीचमा कुराकानी भएको छ । तर अहिले नै कुनै निर्णय भएको छैन । प्रधानमन्त्रीले चाहेको बेलामा जतिबेला पनि पुनर्गठन हुन सक्छ ।”
विप्लवप्रति उहाँले राज्यले गर्ने काम जारी राख्ने बताउनु भयो । उहाँले उल्टो बाटोबाट कहिँ नपुगिने बताउँदै वार्तामा आउन आग्रह गर्नु भयो । “काठमाडौंमा बडो दुखद घटना भयो, चारवटा बम विस्फोट गराएर केही हुने पनि थिएन,” उहाँले भन्नु भयो , “त्यो कन्फिडेन्ट छैन भन्ने प्रमाण पनि हो । राजनीतिक प्रक्रियामा आउनु नै राम्रो हो ।”
उहाँले सरकार र पार्टीका बारेमा आलोपालोको विषयमा आफुले राखेका भन्दा फरक धारणा सार्वजनिक भएको भन्दै आपत्ति जनाउनु भयो ।
