
काठमाडौं, कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले नेपालमा कृषि क्षेत्रमा अध्ययन र अनुसन्धानको पाटो निकै फितलो भएको बताउनु भएको छ । कृषि क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्थाले मंगलबार खुमलटारमा आयोजना गरेको ‘नेपाली तरकारीको सामाजिक–आर्थिक पक्ष र त्यसबाट प्राप्त हुने पौष्टिक आहार’ विषयको दुईदिने छलफलको उद्घाटन गर्दै उहाँले नेपालका वैज्ञानिकले कृषि र स्वदेशी उत्पादनमा खासै ध्यान नदिएका कारण देशका धेरै सरकारी जमीन बाँझो रहँदै अन्य मुलुकसँग परनिर्भर बन्नुपरेको बताउनु भयो । मन्त्री खनालले नेपाललाई आवश्यक बीउबिजन र खाद्यान्न आपूर्तिमा समस्या हुनु नेपालका वैज्ञानिकको कमजोरी भएको बताउनु भयो ।
अनुसन्धान क्षेत्रका वैज्ञानिकको सोच र अर्काको नक्कल गर्ने परिपाटी बढ्दै जाँदा नेपालले कृषि क्षेत्रमा अघि बढ्न नसकेको उहाँको भनाइ थियो । हाल नेपालमा ६६ प्रतिशत किसान कृषिमा आधारित रहेको उहाँले जानकारी दिनु भयो । वितगमा सरकारले कृषि उत्पादनका लागि छुट्याएको जमिन हाल अधिग्रहण हुँदै जानु र सम्बन्धित निकायले त्यसतर्फ ध्यान नदिनु यस क्षेत्रको समस्या भएको उहाँले बताउनु भयो ।कृषि क्षेत्रमा कार्यरत सरकारी निकायले समग्र कृषि क्षेत्रको विषय उठानभन्दा पनि सरकारसँग बजेटको मात्रै माग गरेको उहाँको आरोप थियो ।
