संसदीय समितिको निर्देशन मान्दिन भन्न मिल्छ मन्त्रीले ?

२ असार २०७६, सोमबार १३:००

काठमाडौँ, राष्ट्रिय जनता पार्टीले संविधानको कार्यान्वयन र संसदको मर्यादा कायम राख्नेतर्फ गम्भीर भुमिका निर्वाह गर्न सभामुखमार्फत ध्यानाकर्षण गराएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै राजपाका सासद लक्षमणलाल कर्णले संसदीय समितिको निर्देशन कार्यान्वयन गराई संसदीय मर्यादा कायम राख्न अभिभावकको भुमिका निर्वाह गर्न सभामुखको ध्यानाकर्षण गराउनु भएको हो ।

संसदीय समितिले दिएको निर्देशन संवैधानिक निकायका प्रमुख र सरकारका मन्त्रीले मान्दिन भनेर संसदीय गरिमामाथि नै चुनौति दिने काम गरेको भन्दै उहाँले संसदका गरिमा, मर्यादा बचाउन अभिभावकको भुमिका निर्वाह गर्न सभामुखलाई आग्रह गर्नु भयो । समिति र संसदको अवहेलना र उपहास नहोस् भन्नेतर्फ सचेत हुनुपर्नेमा कर्णको जोड थियो । राज्यव्यवस्था समितिले गरेको निर्देशन लोकसेवा आयोगले कार्यन्वयन नगरेकामा उहाँले आक्रोश पोखनु भयो ।

संसदीय समितिले लोकसेवा आयोगलाई विज्ञापन रोक्न निर्देशन गरेको र अत्यन्तै आवश्यक भए करारमा राख भनेको स्मरण गराउदै उहाँले संसदको निर्देशन पालना नगरेर मन्त्री र लोकसेवा आयोगले संविधानको उलंघन गरेको दाबी गर्नु भयो ।

स्थानीय तहमा कर्मचारी भर्ना गर्न लोकसेवा आयोगले गत जेठ १५ गते झण्डै नौहजार कर्मचारीको विज्ञापन गरेको थियो । उक्त विज्ञापन समानुपातिक समावेशी नभएको भन्दै विरोध भइरहेको छ ।