
काठमाडौं , गोरखापत्र संस्थानको साहित्यिक प्रकाशन मधुपर्क मासिकले वर्षेनी प्रदान गर्दै आएको मधुपर्क सम्मान र पुरस्कार २०७६ बाट तीन साहित्यकर्मीहरूलाई सम्मानित गरेको छ । काठमाडौंमा शुक्रबार बिहान आयोजना गरिएको कार्यक्रममा कथाकार डा राजेन्द्र विमललाई ‘मधुपर्क सम्मान– २०७६’ बाट सम्मानित गरियो भने साहित्यकारहरू सरिता तिवारी तथा सुरेश किरणलाई ‘मधुपर्क प्रतिभा– पुरस्कार– २०७६’ बाट पुरस्कृत गरियो ।
कार्यक्रमका प्रमुख अतिथि संस्कृतिविद् सत्यमोहन जोशीले तीनै स्रष्टालाई सम्मानित एवम् पुरस्कृत गरे । कार्यक्रममा जोशीले सम्मानित तथा पुरस्कृत साहित्यकारहरूलाई बधाई दिँदै नेपाली साहित्यलाई अब विश्वस्तरमा परिचित गराउन लाग्नुपर्नेमा जोड दिए ।
