
काठमाण्डौ , लोकसेवा आयोगले स्थानीय तहका लागि आह्वान गरेको कर्मचारी भर्ना विज्ञापन संविधानको मर्म र भावना विपरित भएको भन्दै संसदको राज्य व्यवस्था समितिले रद्द गर्न निर्देशन दिएको छ ।
संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितसँग सोमबार छलफल गरेलगत्तै समितिले विज्ञापन रद्द गर्न निर्देशन दिएको हो । छलफलमा मन्त्री पण्डितले विज्ञापन संविधानसम्मत नै रहेको दावी गरे पनि समितिले भने रद्द गर्न निर्देशन दिएको हो ।
यसअघि दुई पटकको बैठकमा अनुपस्थित हुनु भएका मन्त्री पण्डितलाई सांसदहरुले लोकसेवाले खोलेको विज्ञापन र त्यसमा समावेशी समानुपातिक प्रतिनिधित्वका विषयमा प्रश्न राखेका थिए ।
मन्त्री पण्डितले फरक फरक युनिट भएकाले समावेशी समानुपातिक प्रतिनिधित्व नमिलेको प्रष्ट पार्नुभएको थियो । मन्त्री पण्डितले विज्ञापनको बचाउ गरे पनि समितिले भने विज्ञापन संविधानको मर्म र भावनाअनुरुप नआएको भन्दै रद्द गर्ने निर्णयमा पुगेको हो ।
