फोहोर मात्रै होइन, मानिसमा रहेको विकृति पनि सफा गरौँः मन्त्री मगर

२२ जेष्ठ २०७६, बुधबार १४:०७

भक्तपुर , खानेपानीमन्त्री वीना मगरले मानिसमा रहेको विकृति र नकारात्मक सोचलाई सफा गर्नसके सरकारले अघि सारेको समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई पूरा गर्न सकिने बताउनु भएको छ ।

४६ औँ विश्व वातावरण दिवसको अवसरमा बुधबार भक्तपुरको सूर्यविनायकमा हनुमन्ते नदी सफाइ अभियानले आयोजना गरेको सरसफाइ, वृक्षरोपण तथा पार्क शिलान्यास कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

हनुमन्ते नदी सफाइ अभियान देशकै नमूना बनेको र यसले देशभर सफाइको सन्देश फैलाइरहेको चर्चा गर्दै उहाँले सफाइ अभियानको मूल मर्म फेरिनु पर्ने बताउनु भयो ।

सो अवसरमा सूर्यविनायक गणेश मन्दिर क्षेत्रमा वृक्षरोपण गर्दै मन्त्री मगरले निर्माणाधीन पार्कको गुरुयोजनासमेत सार्वजनिक गर्नु भयो ।

प्रदेश नं ३ का प्रदेशसभा सदस्य प्रतिमा श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, कार्यक्रमका सभापति एवं सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष किरण थापा, हनुमन्ते सफाइ अभियन्ता रुद्र पौडेलले सफाइ अभियानको महत्वमाथि प्रकाश पार्नु भएको थियो ।